23/08/2026
क्रूरताले निमोठेको बालापन💔
एउटी ३ बर्षकि बालिका
जसका लागी आमाको काखभन्दा
पर अझै संसार फैलिएको थिएन,
बाबाको औँला समातेर
केही पाइला हिँड्नु नै
उसको ठूलो यात्रा थियो।
भर्खर–भर्खरै,
शब्दहरूलाई आवाज दिन सिक्दै थिईन
लडेर फेरि उठ्न सिक्दै थिईन,
आफ्नै साना पाइतालाले
आँगन नाप्न सिक्दै थिईन!
उसको सानो संसारमा
बलात्कार भन्ने शब्द थिएन,
हत्या भन्ने अर्थ थिएन,
पाप र अपराधको परिभाषा थिएन।
थियो त केवल…
आमाको काख,
बाबाको अनुहार,
केही खेलौनाहरू,
र भर्खरै फक्रिँदै गरेको
एउटा अबोध बालापन।
तर
मानवताको खोल ओढेको
एउटा हिंस्रक मनले
त्यही अबोध बालापनमाथि
यति ठूलो अपराध गर्यो
कि तीन वर्षको एउटा सानो शरीर
सम्पूर्ण सभ्यताको कठघरामा उभियो।
र उनीसँगै-
एउटी आमाको संसार मर्यो,
एउटा बाबाको भविष्य मर्यो,
एउटा घरको हाँसो मर्यो,
र फेरि एकपटक
समाजको अनुहारमा टाँसिएको ‘सभ्य’ शब्द मर्यो।
यो पहिलोपटक थिएन।
निर्मला थिइन्,
न्यायको प्रतीक्षामा हराएको एउटा नाम।
सम्झना थिइन्,
पीडाको अर्को अध्याय।
निरु, इनिशा
र यस्ता कति नामहरू
हाम्रो सामूहिक स्मृतिको
अँध्यारो कुनामा थन्किएका छन्।
नामहरू फेरिन्छन्,
घटना फेरिन्छन्,
समाचारका शीर्षक फेरिन्छन्,
तर चेलीहरूको नियति
किन उही रहन्छ?
कहिलेसम्म
छोरीका बाआमा डराइरहने,
छोरीलाई सावधान हुन सिकाइरहने
एक्लै नहिँड्नु भनेर सम्झाइरहने!
गरिमा त
अझै संसार बुझ्ने उमेरमै पुगेकी थिइनन्।
उनलाई थाहा थिएन
समाज के हो,
अपराध के हो,
न्याय के हो।
उनलाई त
जीवन भन्नु
खेल्नु थियो,
हाँस्नु थियो,
आमाको काखमा निदाउनु थियो।
उनका साना हातहरूले
अझै कति कुरा समात्न बाँकी थिए
आमाको औँला,
बाबाको हात,
खेलौनाहरू,
र भोलिका अनगिन्ती सपनाहरू।
तर
कसैले उनको हातबाट
यी सबै भविष्यहरू
एकैपटक खोसिदियो।
र उनको जीवनलाई
यति निर्मम्तापूर्वक चुँडिदियो!
गरिमा,
तिमीले संसार बुझ्न पाइनौ।
तर तिम्रो मृत्युले
समाजको विवेक पुनः झक्झक्याइ दियो
समस्या छोरीहरूको हिँडाइमा होइन,
समस्या त
हिंस्रक मानसिकतामा रहेछ।
निर्मलाको आँसुबाट
गरिमाको मौनतासम्म आइपुग्दा पनि
यदि हाम्रो समाज फेरिएन भने,
भोलि फेरि
कुनै अर्को नाम
हाम्रो सामूहिक स्मृतिमा थपिनेछ।
केवल छोरीलाई
सावधान हुन सिकाएर पुग्दैन।
छोरालाई पनि
मानवता पढाउनुपर्छ।
उसको हातमा शक्ति दिनुअघि
संयम सिकाउनुपर्छ,
उसलाई स्वतन्त्रता दिनुअघि
जिम्मेवारी बुझाउनुपर्छ।
हुर्काउँदै गर्दा ‘पुरुष हुनु’ भन्दा पहिले
‘मान्छे हुन’ सिकाउनुपर्छ।
घरले संस्कार देओस्
विद्यालयले चेतना देओस्,
समाजले सही मार्ग देखाओस्,
र राज्यले यस्तो व्यवस्था बनाओस्
जहाँ कानून किताबका पानामा मात्र होइन,
अपराधीको मनमा पनि डर बनेर उभियोस्।
जहाँ पहुँचले न्याय नकिनोस्,
शक्तिले कानून नझुकाओस्,
र पीडितको आवाज
अदालतको ढोकामै नअड्कियोस्।
अपराधीलाई कानूनबमोजिम कठोर
र निष्पक्ष सजाय होस्,
ताकि न्याय कुनै परिवारको आशा मात्र होइन,
समाजको विश्वास बनोस्।
शिक्षाले चेतना जगाओस्,
संस्कारले विवेक जन्माओस्,
सुशासनले कानूनलाई बलियो बनाओस्,
र सभ्यताले
मान्छेलाई साँच्चिकै मान्छे बनाओस्।
किनकि
केवल आँसु बगाएर
गरिमा फर्किने छैनन्,
केवल श्रद्धाञ्जलीले
अरू गरिमाहरू बच्ने छैनन्।
त्यसैले-
न्याय हराउनु हुदैन,
कानून झुक्नु हुदैन,
र फेरी कुनै छोरीको बालापन
कसैको क्रूरताको सिकार बन्नु हुदैन।