23/02/2026
गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको आयोजनामा मन्त्रालय मातहतका २ आयुर्वेद अस्पताल सहित कुल १६ वटै प्रदेश अस्पतालहरूमा नवगठित व्यवस्थापन समितिका अध्यक्ष र सदस्य सचिव (मेडिकल सुपरिटेन्डेन्ट) हरूसँग फागुन ११ गते एक अन्तरकृया सम्पन्न भएको छ ।
मन्त्रालयका माननीय मन्त्री कृष्ण प्रसाद पाठकज्यूको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्त राज शर्मा, प्रदेश अस्पताल लमजुङका प्रमुख डा. शिशिर देवकोटा, मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेशकुमार के.सी., प्रदेश अतिरिक्त सचिव खिम बहादुर खड्का र सचिव डा. युवानिधी बसौलाले सहजीकरण गर्नुभएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरूले आआफ्ना अस्पतालका समसामयिक विषयमा भनाइ राख्नुभएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै माननीय मन्त्रीज्यूले प्रदेश सरकारबाट जारी भएका ऐन, नियम, निर्देशिका र कार्यविधिले तोके अनुसारको कार्य जिम्मेवारी पूरा गर्दै अस्पतालको समग्र व्यवस्थापन र श्रीवृद्धिका लागि नेतृत्व प्रदान गर्न आग्रह गर्दै समितिका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिनु भएको छ ।