05/02/2017
राजयोग मेडिटेशन
एकान्तमा बसी स्वयंलाई एक दिव्य शक्ति लाईट (आत्मा) मानेर गुण र शक्तिहरुका स्रोत परमपिता परमात्मासँग मन र बुद्धिको माध्यमबाट स्नेहयुक्त सम्बन्ध स्थापित गरेर परम शान्ति र आनन्दको अनुभूति गर्ने विद्या हो। मेडिटेशन ल्याटिन शब्द मेडरीबाट बनेको हो, जसको अर्थ हुन्छ–उपचार गर्नु । त्यसैले राजयोग मेडिटेशन मानसिक विक्षिप्तता, तनाव, क्रोध, अशान्ति जस्ता नकारात्मक भावलाई निराकरण गरी शान्ति, प्रेम, करुणा, स्वीकार्यता जस्ता सकारात्मक र श्रेष्ठ भावलाई विकसित गर्ने एक मनोवैज्ञानिक विधि हो। राजयोग स्वयंलाई सुसंस्कृत गर्ने विज्ञान हो, जसबाट मनलाई दैहिक भानबाट आत्मिक भानतर्फ मोडेर आफ्ना कर्मेन्द्रियहरुमाथि सम्पूर्ण विजय प्राप्त गर्न सकिन्छ। राजयोगको अभ्यासबाट मष्तिष्कको न्यूरोट्रान्समिटर र न्यूरोकेमिष्ट्री स्वस्थ हुन्छन्, जसबाट शरीरका मुटु, फोक्सो, पेट लगायत सबै अंगहरुले राम्रोसँग कार्य गर्न थाल्दछन्। त्यस्तै सिरोटिन लगायतका हार्मोनले जीवनलाई मानसिक दबाव, तनाव र कष्टको कुप्रभावबाट बचाउँदछ। तनाव र चिन्ताको कारणले सृजित स्टीरायड, एपिनफिरेन, नोरपाइनफिरेन, युरिक एसिड, फ्रि फैटी एसिड र कोलेस्ट्रोलको वृद्धिलाई रोकेर एनडर्फिन र एनसिफैलिन जस्ता हार्मोन पैदा गरी शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँदछ। राजयोग यस्तो साधना हो, जसबाट आत्माका सबै पाप समाप्त हुन्छन् र आत्मा पुनः पवित्र बन्दछ। यसबाट तनाव, दुःख र अशान्तिलाई मेटाएर परमशान्ति र अतिन्द्रिय सुखको अनुभूति गर्न सकिन्छ। यसबाट मनुष्य आत्मामा देवत्वको विकास हुन्छ।