10/09/2026
झापामा जेईको जोखिम बढ्दै, कमल गाउँपालिकामा २६ हजार ४६८ जनालाई खोप लगाइँदै
क्याम्पा । झापामा जापानी इन्सेफ्लाइटिस (जेई) संक्रमणसँगै मृत्युदर बढ्न थालेपछि जोखिम न्यूनीकरणका लागि जिल्लाव्यापी खोप अभियान सञ्चालन गरिने भएको छ। अभियानअन्तर्गत कमल गाउँपालिकामा मात्रै ३० वर्षमाथिका २६ हजार ४६८ जनालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ।
स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा पछिल्लो समय जेई संक्रमण र मृत्युका घटना बढ्दै गएपछि १५ वटै स्थानीय तहमा ठूलो स्तरमा खोप अभियान सञ्चालन गर्न लागिएको हो। आश्विन ५ गतेदेखि सञ्चालन हुने अभियानमा झापाभरका करिब ४ लाख ९३ हजार ३१९ जना नागरिकलाई जेईविरुद्धको खोप लगाउने तयारी गरिएको छ।
कमल गाउँपालिकामा पनि खोप अभियानका लागि आवश्यक तयारी तीव्र पारिएको छ। गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था तथा तोकिएका खोप केन्द्रमार्फत लक्षित उमेर समूहका नागरिकलाई खोप सेवा उपलब्ध गराइने कमल गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिएका छन्।
उपलब्ध विवरणअनुसार कमल गाउँपालिकामा २६ हजार ४६८ जना लक्षित जनसंख्या रहेको छ। अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाको समन्वयमा खोप कार्यक्रम सञ्चालन गरिने अध्यक्ष राईले बताए।
७ वटै वडामा खोप केन्द्र सञ्चालन हुने जेईविरुद्धको खोप अभियानलाई नागरिकको पहुँचमा पुर्याउन कमल गाउँपालिकाका ७ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको छ।
गाउँपालिकाका ८ वटै स्वास्थ्य संस्थामा खोप सेवा सञ्चालन गरिनेछ। यसका अतिरिक्त सडनपाडा, भुत्लुङ्ग, वडा नं. ४ को वडा कार्यालय तथा पिङ्गडाँडा लगायत नियमित खोप सञ्चालन हुँदै आएका स्थानमा समेत खोप केन्द्र सञ्चालन गर्ने तयारी गरिएको छ।
विद्यालय तथा आवश्यकताअनुसार अन्य स्थानमा समेत खोप केन्द्र तोक्ने तयारी भइरहेको जनाइएको छ। सबै वडाका नागरिकलाई सहज पहुँच हुने गरी खोप केन्द्र निर्धारण गरिने गाउँपालिकाले जनाएको छ।
झापामा संक्रमणसँगै मृत्युदर बढ्दो स्वास्थ्य कार्यालय झापाका अनुसार भदौ २१ गतेसम्म जिल्लामा ९५ वटा अतिशीघ्र इन्सेफ्लाइटिस सिन्ड्रोमका घटना पहिचान भएकामा १२ जनामा जेई संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये चार महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भइसकेको कार्यालयले जनाएको छ।
सबैभन्दा बढी संक्रमण मेचीनगर नगरपालिकामा देखिएको छ। मेचीनगरमा छ जनामा संक्रमण पुष्टि हुँदा दुई जनाको मृत्यु भएको छ। त्यस्तै, बिर्तामोडमा दुई जनामा संक्रमण पुष्टि भएकामा एक जनाको मृत्यु भएको छ भने बाह्रदशी, अर्जुनधारा र हल्दीबारीमा पनि एक–एक जना संक्रमितको मृत्यु भएको जनाइएको छ।
स्वास्थ्य कार्यालयका अनुसार कोशी प्रदेशका १४ जिल्लामध्ये जेई संक्रमणको जोखिम झापामा सबैभन्दा बढी देखिएको छ।
किन ३० वर्षमाथिका नागरिकलाई खोप ?
नेपालमा विगतमा जेईविरुद्धको खोप मुख्यतः बालबालिकालाई लक्षित गरी सञ्चालन हुँदै आएको थियो। बालबालिकाले नियमित खोप कार्यक्रममार्फत जेईविरुद्धको खोप पाइरहेकाले यसपटकको विशेष अभियानमा ३० वर्षभन्दा माथिको उमेर समूहलाई प्राथमिकतामा राखिएको हो।
पछिल्लो समय झापामा विशेषगरी बढी उमेर समूहका नागरिकमा संक्रमण र मृत्युका घटना देखिन थालेपछि खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले बताएका छन्।
जापानी इन्सेफ्लाइटिस संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गम्भीर रोग हो। यसको रोकथामका लागि खोपलाई महत्वपूर्ण र प्रभावकारी उपायका रूपमा लिइन्छ।
अभियानमा सहभागी हुन अध्यक्ष राईको आग्रह
कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले जेईजस्तो गम्भीर रोगबाट नागरिकलाई सुरक्षित राख्न खोप अभियान सञ्चालन गर्न लागिएको बताउँदै लक्षित उमेर समूहका सबै नागरिकलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन्।
उनले गाउँपालिकाले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक स्वास्थ्य सेवा तथा रोग रोकथामका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै भने, “लक्षित सबै नागरिकले तोकिएको समय र स्थानमा पुगेर जेईविरुद्धको खोप लगाउनुपर्छ।”
कमल गाउँपालिका स्वास्थ्य शाखाले अभियान सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा समुदायस्तरबाट सहयोग र समन्वय आवश्यक रहेको जनाएको छ।
शाखाले ३० वर्षमाथिका सबै लक्षित नागरिकलाई नजिकको तोकिएको खोप केन्द्रमा पुगेर समयमै जेईविरुद्धको खोप लगाउन अनुरोध गरेको छ। आश्विन ५ गतेदेखि खोप अभियान सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ।