01/08/2026
"महत्त्वपूर्ण कुरा"
स्तनपान भनेको केवल बच्चालाई सिधै स्तन चुसाएर दूध खुवाउनु मात्र होइन; आमाको स्तनदूध सुरक्षित रूपमा बच्चासम्म पुग्नु नै सबैभन्दा महत्वपूर्ण कुरा हो।
केवल पम्प गरेर स्तनदूध खुवाउने (Exclusive Pumping) निर्णय छोटो वा लामो समयका लागि जे भए पनि, यो आमा र शिशु दुवैका लागि सकारात्मक विकल्प हुन सक्छ। सबै आमाले सिधै स्तनपान गराउन सक्नुहुन्न। केही शिशुमा जन्मजात समस्या जस्तै क्लेफ्ट लिप/प्यालेट, मुटुको समस्या, टङ-टाइ (Tongue-tie) वा कमजोर चुस्ने क्षमता (Weak Sucking Reflex) हुन सक्छ। त्यसैगरी केही आमामा स्तन वा निप्पलसम्बन्धी समस्या, आमा–शिशुको अस्थायी छुट्टिनु, मानसिक असहजता वा पारिवारिक तथा व्यावहारिक कारणले प्रत्यक्ष स्तनपान गराउन कठिन हुन सक्छ। यस्तो अवस्थामा एक्सक्लुसिभ पम्पिङ प्रभावकारी र सुरक्षित विकल्प हुन सक्छ। तपाईंको कारण जेसुकै भए पनि, आफ्नो शिशुलाई स्तनदूध उपलब्ध गराउने तपाईंको प्रयास सम्मान र समर्थनको योग्य छ।
तर, एक्सक्लुसिभ पम्पिङ प्रत्यक्ष स्तनपानभन्दा केही बढी मेहनतको हुन्छ। त्यसैले सही ब्रेस्ट पम्प छनोट गर्ने, दिनमा कति पटक र कति समय पम्प गर्ने तथा स्तनदूधको उत्पादन (Milk Supply) कसरी कायम राख्ने भन्ने जानकारी हुनु अत्यन्त आवश्यक छ।
दूधको मात्रा बढाउने सबैभन्दा प्रभावकारी उपाय भनेको २४ घण्टाभित्र पम्प गर्ने संख्या बढाउनु हो। एकपटक लामो समय पम्प गर्नु भन्दा छोटो-छोटो समयका लागि पटक–पटक पम्प गर्नु बढी लाभदायक हुन्छ। शिशुसँग धेरै समय स्किन-टु-स्किन (Skin-to-Skin) सम्पर्कमा रहनु, क्लस्टर पम्पिङ (१–२ घण्टाभित्र ५–१० मिनेटका दरले धेरै पटक पम्प गर्नु), पम्प गर्दा ब्रेस्ट कम्प्रेसन (Breast Compression) गर्नु र अन्त्यमा ह्यान्ड एक्सप्रेशन (Hand Expression) गर्नुले दूधको मात्रा बढाउन मद्दत गर्न सक्छ। आवश्यक परे Hands-on Pumping विधि पनि अपनाउन सकिन्छ, जसमा मसाज, कम्प्रेसन र ह्यान्ड एक्सप्रेशनलाई एकसाथ प्रयोग गरिन्छ।
यति गर्दा पनि दूध पर्याप्त नआएमा चिकित्सक वा स्तनपान विशेषज्ञसँग परामर्श लिनु उचित हुन्छ। केही अवस्थामा औषधिले सहयोग गर्न सक्छ, तर नियमित पम्पिङको विकल्प भने होइन।
यदि तपाईंको शिशुले सबै फिड एक्सप्रेस गरिएको स्तनदूध बाट लिन्छ भने, बोतलबाट खुवाउनु सबैभन्दा सहज विकल्प हुन सक्छ। तर निश्चित समयको आधारमा मात्र नभई शिशुको भोकका संकेतहरू (Feeding Cues) हेरेर दूध खुवाउने प्रयास गर्नुहोस्। साथै Paced Bottle Feeding विधि अपनाउँदा शिशुले आफ्नो आवश्यकताअनुसार बिस्तारै दूध पिउन सक्छ। हरेक पटक एउटै हातमा समातेर नखुवाई पालैपालो दायाँ र बायाँ हातमा समातेर खुवाउँदा शिशुको घाँटीका मांसपेशी र दृष्टि विकास सन्तुलित हुन मद्दत मिल्न सक्छ।
धेरै आमाहरूलाई प्रत्यक्ष स्तनपान गराउन नसकेमा आफू र शिशुबीचको सम्बन्ध कमजोर हुन्छ भन्ने लाग्न सक्छ। तर वास्तविकता त्यस्तो होइन। आमा–शिशुको माया र सम्बन्ध केवल स्तनपानमा मात्र निर्भर हुँदैन। स्किन-टु-स्किन सम्पर्क, काखमा राखेर दूध खुवाउने, आँखामा आँखा मिलाएर कुरा गर्ने, गीत सुनाउने, नजिकै राख्ने वा बेबी क्यारियर मा बोकेर हिँड्ने जस्ता कुराले पनि गहिरो भावनात्मक सम्बन्ध बनाउन मद्दत गर्छ। तपाईंले काम, अस्पतालमा बसाइ वा अन्य कुनै व्यावहारिक कारणले पम्प गरेर दूध खुवाइरहनुभएको भए पनि, तपाईं आफ्नो शिशुसँगको त्यो विशेष सम्बन्धलाई निरन्तर कायम राखिरहनुभएको हुन्छ।
सधैं सम्झनुहोस्, स्तनदूधको प्रत्येक थोपामा एउटी आमाको समय, धैर्य, अथक मेहनत र असीम माया मिसिएको हुन्छ। त्यसैले यदि तपाईं एक्सक्लुसिभ पम्पिङ गरिरहनुभएको छ भने, आफूलाई कहिल्यै कम नठान्नुहोस्। तपाईंले आफ्नो शिशुलाई दिइरहनुभएको माया, हेरचाह र स्तनदूध नै उसको लागि सबैभन्दा अमूल्य उपहार हो।
शाफिया खातुन
ल्याक्टेशन कन्सल्टेन्ट