11/03/2026
स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजनामा मिति : २०८२/११/२६ गते मंगलबार ‘नेपाल फर्मा एक्सपो र ओैषधिमा आत्मनिर्भरता बिषयमा नीतिगत सवाल’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा ललितपुर क्षेत्र नं. ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. कार्कीले नेपालमा उपचार र औषधी शुल्क महँगो भएकोले बर्षेनी पाँच लाख जना मानिस गरिबीतर्फ धकेलिएको बताउनुभयो । उहाँले प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरिय औषधि पाउनुपर्नेमा जोड दिँदै अव बन्ने सरकारको प्रमुख प्राथमिकता जनताको औषधि उपचारको सवालालाई प्राथमिकता दिन आवश्यक रहेको औल्याउनुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले औषधि ऐन २०३५ लाई संशोधन गरेर नेपाली औषधि उद्योगमैत्री बनाउन आवश्यक बताउनुभयो । राष्ट्रिय ओैषधि प्रयोगशालाका निर्देशक भरतप्रसाद भट्टराईले ओैषधि परामर्श समितिका कारण धेरै समस्या रहेको भन्दै ओैषधिको गुणस्तर प्रत्याभूति गर्न विश्व स्वास्थ्य सङ्गठनले लागू गरेको मापदण्ड पालना गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल फार्मेसी परिषदका अध्यक्ष प्रवलजंग पाण्डेले नेपालले नीतिगत सुधार गरेर ओैषधि उद्योगलाई गुणस्तरीय उत्पादनमा प्रेरित गर्नुपर्ने जोड दिनुभयो ।
नेपाल ओैषधि व्यवस्था विभागको प्रमुख ओैषधि व्यवस्थापक शिवानी खड्गीले राजनीतिक स्थायित्वको अभावले स्वदेशी ओैषधि उद्योगमैत्री ओैषधि ऐन बन्न नसकेको बताउनुभयो । नेपाल ओैषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले २०३५ सालमा बनेको ओैषधि ऐन नेपालका ओैषधि व्यवसायीको हितमा नभएको भन्दै आयातमुखी ओैषधि ऐनलाई सुधार गरिने बताउनुभयो । कार्यक्रममा सञ्चारकर्मीहरुको सक्रिय उपस्थिति रहेको थियो भने औषधी उत्पादन संघका प्रतिनिधिहरुको पनि उल्लेखीय सहभागी रह्यो ।
कार्यक्रममा सहभागी हुनुहुने मञ्चका पदाधिकारी तथा सदस्य, सञ्चारकर्मी, सरोकारवालालगायत औषधी उत्पादक संघका प्रतिनिधिज्यूहरुलाई हार्दिक धन्यवाद ।
स्वास्थ्य पत्रकार मञ्च, नेपाल परिवार ।